२०७६ असार १० मंगलबार,
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बुधबार (भोलि) प्रकाशन गरिने भएको छ । उत्तरपुस्तिका परीक्षणपछि सबै काम सम्पन्न गरी अन्तिम रुजु गर्ने कार्य भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनकालागि अन्तिम तयारी भइरहेको जनाएको छ । नतिजा प्रकाशनकालागि सम्पूर्ण तयारी सकिएको र पुनः परीक्षणको काम भइरहेको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।
‘नतिजा प्रकाशनको तयारी अन्तिम चरण पुगेको छ । सम्भवतः बुधबार नै प्रकाशित हुनेछ । कथंकदाचित प्राविधिक पक्ष मिलाउन ढिलाइ भएमा बिहीबारसम्म नतिजा आउँछ’, कार्यालयका एक अधिकारीले भने ।
नतिजा प्रकाशनका लागि आवश्यक तयारी अन्तिम अवस्थामा पुगेको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए । उनले भने, ‘एक दुई दिनभित्रै परीक्षाफल प्रकाशित गरिनेछ । प्रकाशनको अन्तिम तयारीमा हामी लागेका छौं ।’ कार्यालयले परीक्षाको नतिजा सम्बन्धी विवरण हेर्न सकिने व्यवस्थाको सूचना जारी गरिसकेको छ ।
परीक्षा नियन्त्रण कार्यालयले विभिन्न वेबसाइट, एसएमएस र आइभिआरबाट परीक्षाको नतिजा थाहा पाउन सकिने जनाएको छ । २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको परीक्षामा देशभरबाट कुल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी थिए ।
कार्यालयले बुधबारकालागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाएको छ । बोर्डले निर्णय गरेपछि परीक्षाको नतिजा सार्वजनिक हुने परीक्षा नियन्त्रक अधिकारीले बताए । उनका अनुसार ढिलोमा विहीबारसम्ममा नतिजा प्रकाशन हुनेछ । बोर्डले गएका वर्षहरुभन्दा करिब एक साता ढिला गरी नतिजा प्रकाशन गर्न लागेको हो ।
विद्यार्थीहरुले नतिजा प्रकाशन भएपछि https://see.edusanjal.com/ तथा विविन्न Website, SMS र IVR मार्फत एसइइ परीक्षा २०७५ को नतिजा हेर्न सक्नेछन्|
एसइइ परीक्षा २०७५ को नतिजा कसरी हेर्ने
विगतमा जेठ मसान्तदेखि असार एक÷दुई गतेभित्रै एसइईको नतिजा प्रकाशन हुने गरेको थियो । यसपटक प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गर्नुपर्दा र जनशक्ति अभावले नतिजा प्रकाशन गर्न ढिला भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । देशभर एकैसाथ १० चैतदेखि २१ सम्म परीक्षा सन्चालन भएको थियो । प्रदेश–२ मा भने २२ देखि २९ चैत्रसम्म परीक्षा सञ्चालन गरेको थियो ।
यसवर्ष सातै प्रदेशबाट नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र विगतको आंशिक गरी जम्मा चार लाख ७५ हजार परीक्षार्थी सहभागी छन् । छात्रा दुई लाख ३८ हजार पाँच सय ५८ र छात्र दुई लाख ३६ हजार चार सय छन् । यीमध्ये सामुदायिक विद्यालयबाट तीन लाख ४० हजार एक सय ९६ र निजीबाट एक लाख ३४ हजार आठ सय सहभागी छन् ।