हरेक चाडबाडका आ–आफ्नै महत्व र सन्दर्भ हुन्छ । जस्तै, कुनै चाड माटोको चाड हुन्छ, कुनै पानीको चाड र आज यो जनै–पूर्णिमा भने धागो र बन्धनको चाड हो । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन । ब्राह्मण र क्षेत्री पुरुषहरूले हिन्दू परम्परा अनुसार यज्ञोपवित अर्थात् जनै लगाउने चलन रहिआएको छ ।
बाल्यकालपश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरू–पुरोहितद्वारा अरूले नसुन्ने गरी कानमा गायत्री–मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्ने गरी दाहिने हातको मुन्तिर पारेर गुरू पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।
यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो (६ सूते धागो) लाई दुई बेग्लै बेग्लै गाँठो पारिसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रुपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुईवटा शिखाका छ वटा घागो डोरामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।
आजको दिनको मन्त्रः
‘येन बद्धो बली राजा दानवेन्द्रो महाबलः ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।’
अर्थात्
‘जुन रक्षा (काँचो धागो)ले दानवहरूका महान राजा बलीलाई बाँधिएको थियो, म तिमीलाई त्यही धागोले बाँध्छु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ ।’
आजको दिनलाई नेपाल भाषामा गुंपुन्हि पनि भनिन्छ । नेवार समुदायले आजको दिनलाई ‘गुंला महिनाको पुन्हि’ अर्थात् ‘गुंपुन्हि’ भनी मनाउँछन् ।
यसै अवसरमा उपत्यकाका भित्री सहरका बहाल बिहारमा ‘बहिद्यः ब्वयेगु’ भनेर दीपङ्कर बुद्धका मूर्ति एवं यससँग सम्बन्धित अरू मूर्ति, सामान प्रदर्शनका लागि राखिन्छ ।
रक्षाबन्धन बाँधिएको धागो निकालेर गाई तिहारका दिन गाईलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरी दिने चलन पनि छ । हिन्दू परम्परा अनुसार यसो गर्दा पुण्य प्राप्त हुने विश्वास रहिआएको छ । कतिपयले आफैँ गुरु पुरोहित कहाँ गई या मठ मन्दिरमा गएर रक्षाबन्धन बाँध्ने गर्दछन् ।
यसै दिन दिदी–बहिनीहरूले आफ्ना दाजु–भाइका दाहिने हातका नाडीमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फूल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ । नेपालको तराई क्षेत्र लगायत भारत, बङ्गलादेश लगायतका देशहरूमा राखीको चलन र यस चाडको महत्व एकदमै बढिरहेको छ ।
आजको दिन कज्वाइँ–ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि प्रचलित छ । आज काठमाडाँैको पशुपतिनाथ, भक्तपुरको कुम्भेश्वर महादेव, रसुवाको गोसार्इँकुण्ड, जनकपुरको गङ्गासागर, धनुषसागर, सोलुखुम्बुको दूध–कुण्ड, खोटाङको हलेसी, जुम्लाको दानसाँधु, नगरकोट लगायतका पर्वतीय शिखर, महादेवस्थान र त्रिवेणीधामहरूमा मेला पनि लाग्दै आएको छ ।
विशेषतः ब्राह्मण, क्षेत्री या अन्य कुनै बैदिक धर्म पालन गर्ने समुदायमा ब्राह्मण पुरोहितसँग हातको नाडीमा मन्त्रेको डोरा लगाएर यो पूर्णिमा मनाइने गरिएको छ ।
सनातन् हिन्दू वैदिकग्रन्थ अनुसार काँचो धागोबाट बनेको जनैलाई ब्रह्मसूत्र अर्थात् वेदोक्तकर्म सम्पादनार्थ तथा वेद अध्ययन निमित्त योग्यता हासिल गर्न ग्रहण गर्न मन्त्रिएर तयार पारिएको ६ सूते धागोको समूह हो, जसलाई तयार पार्दा ३–३ वटा डोराको दुईवटा बन्धन तयार पारिन्छ, जसलाई शिखा भनिन्छ । शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकहरूको योग मानिन्छ ।
परिवर्तित परिपेक्ष्यमा चुँडाकर्म या उपनयन सकेका ब्राह्मण या क्षेत्रीमात्र भन्दा पनि चित्त शुद्ध गरेर आस्थावान जो कोही सनातन धर्मका अनुयायीले पनि यज्ञोपवित अर्थात् जनै अरुलाई लगाईदिन र आफूले पनि लगाउन सक्छन् । स्मरणरहोस्, मन्त्रिएका यज्ञोपवितहरूको धारण गर्नाले सभिथा अर्थात् सूर्य भगवानको प्रत्यक्ष उर्जा प्राप्त गर्ने र त्यसमा गायत्री मन्त्रको उच्चारणले शारीरिक, मानसिक र अध्यात्मिक सार्मथ्यको वृद्धि हुने विश्वास छ ।
साथै यज्ञोपवित धारण गरेपछि समस्त सनातन कर्महरूको कर्ता र अभियन्ता बन्न योग्य पनि ठहर्याउँछ । आजभोलि वैदिक सनातन धर्मलाई केवल जातीय आधार र छुवाछुतका रुपमा लिइने चलन छ, जुन अत्यन्त संकुचित कुण्ठा मात्र हो । यज्ञोपवितले ब्राह्मण पथमा लाग्ने राहदानीको कार्य गर्छ, तथापि ब्राह्मणपथ भन्नाले जन्म हैन कर्मले प्राप्त हुने पथ हो । आत्मिक शुद्धता, सकल जगतको भलो अनि अध्यनशीलताको पथ नै ब्राह्मण पथ हो । ब्राह्मणलाई केवल जात, भाषा र खलकका रुपमा मात्र हैर्न हुँदैन । जुनसुकै धर्म या जातीय पृष्ठभूमिको भएपनि अध्यनशीलता र आत्मिक शुद्धताको ब्राह्मणपथमा आलीन हुन सक्दछन् ।
रक्षा बन्धन दुई शब्दहरू मिलेर बनेको छ, ‘रक्षा’ र ‘बन्धन’ । संस्कृत शब्दावलीको अनुसार यसको अर्थ ‘सुरक्षाको गाँठो’ हुन्छ । यो चाड दाजुभाइ–दिदी–बहिनी सम्बन्धको अनन्त प्रेमको प्रतीक हो । यो केवल रगतको सम्बन्ध मात्र नभई आफूले दिदी–बहिनी या दाजुभाई मानेका यस्ता अन्य सम्बन्धमा पनि मनाइन्छ ।
यस दिन, दिदी–बहिनीले आफ्नो सफलता, स्वास्थ्य र खुसीको प्रार्थना गर्न आफ्ना दाजुभाईको हातमा रक्षा बन्धनका धागो बाँधिदिने चलन छ । त्यसैगरी दाजुभाइले पनि दिदी–बहिनिलाई उपहार दिन्छन् । आफ्ना दिदी–बहिनीलाई हरेक परिस्थितिमा जोगाउने बचन दिन्छन् । आफ्ना दाजुभाई तथा दिदी–बहिनीसँग टाढा हुनुहुन्छ ? यदि टाढा हुनुहुन्छ भने आफ्नो दिदी–बहिनी दाजुभाइसँग रक्षा बन्धन लगाउन नपाउनु या उपहार दिन नपाउनुको कमी पक्कै महसुस गर्दै हुनुहुन्छ होला ।
यो पावन अवसरमा आफ्नो दिदी–बहिनी दाजुभाइ सँगसँगै नहुनु कति दुःखद हुन्छ हामीले बुझेका छौँ । यही कमीलाई केही हदसम्म पूरा गर्न हाम्रो पात्रोले हाम्रो रिचार्ज सेवा लिएर आएको छ, जहाँ हजुरहरूले नेपालमा बस्नुभएका दिदी–बहिनी तथा दाजुभाईलाई उपहार स्वरुप हाम्रो रिचार्ज प्रयोग गरी खुसी बाड्न सक्नुहुनेछ ।
क्वाँटी खाने दिन
यो चाडमा छुटाउनै नहुने विशेष परिकार भनेको भिजाएर अंकुरित भएका गेडागुडीबाट बनेको ‘क्वाँटी’ हो । नेपाल भाषामा क्वाँटीको शाब्दिक अर्थ ‘क्वाँः’ भनेको तातो परिकार ‘टी’ भनेको झोल त्यसैले “क्वाँटी“ भनेको झोलिलो परिकार हो । आजको दिनलाई क्वाँटी खाने दिन पनि भनिन्छ ।
पानीमा भिजाई राखिएको ९ प्रकारका गेडागुडीहरू (मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी र बकुल्लो) गरी नौ थरिका गेडागुडी मिसाइएको हुन्छ । मिसाएर तयार पारिएको मिश्रणमा जब टुसा उम्रिन्छ त्यसलाई क्वाँटी भनिन्छ । हरियो टुसा पलाएको गेडागुडीलाई विशेषगरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ । यो दिन विशेषको महत्वपूर्ण स्वाद पनि हो ।
क्वाँटी पकाउने आ–आफ्नै तरिका हुन्छ । भुटेर, झोल पारेर साकाहारी स्वाद अथवा खसी वा कुखुराको मासु मिसाएर समेत स्वादिष्ट परिकार क्वाँटी तयार पारिन्छ । आजको दिन क्वाँटी खाएमा पाचनक्रियासँग सम्बन्धित रोगहरू हट्ने जनविश्वास रहिआएको छ । नेवार समुदायले खाने विशेष प्रकारको क्वाँटीलाई ‘न्वाँगी’ भनिन्छ ।
देशमा हुनुहुन्छ या विदेशमा हुनुन्छ । परिवारसँग हुनुहुन्छ या परिवार बाहिर हुनुहुन्छ । तपाई जुनसुकै धर्ममा आस्था राख्नुहुन्छ या राख्नुहुन्न ? तपाई–हामी जहाँ छौंँ, जे गर्दैछौँ ।
आजको यो सांस्कारिक काँचो धागो वा दाजु–भाई, दिदी–बहिनीहरूबीचको माया, स्नेह र बन्धनको चाडले हामी सबैलाई यस आदिकालीन परम्पराको निरन्तरतालाई युगौँ युगसम्म निरन्तर प्रेम, सद्भावको चिनारीको रूपमा अघि बढिरहोस् । सबैको रक्षा होस्, जनै पूर्णिमा, रक्षा बन्धनको शुभकामना ।
संस्कृत दिवस
संस्कृत भाषाको वस्तुगत महत्वलाई जनसमक्ष पुर्याउन र संस्कृत साहित्यमा रहेको विशाल ज्ञानको अनुसन्धान गर्न, बौद्धिक समुदायलाई यसप्रति उत्प्रेरित गर्न, विद्यार्थीलाई संस्कृत भाषाको अध्ययन गर्ने प्रेरणा दिन हरेक वर्षको जनै पूर्णिमाका दिन ‘विश्व संस्कृत दिवस’ मनाउने गरिएको छ । ५००० वर्षभन्दा पुरानो इतिहास रहेको संस्कृत भाषाको दिन नै श्रावण पूर्णिमाको दिनमै वेद पाठनको शुरुवात हुने भएकाले आजको दिन नै संस्कृत दिवस भनेर मनाइन थालेको हो ।
संस्कृत भाषामा रचना भएका ग्रन्थमा रहेका ज्ञान प्रचार–प्रसारमा सहयोग पुर्याउने हेतुका साथ आजको दिन यो विश्व संस्कृत दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । संस्कृत भाषाको सम्वर्धन तथा प्रवर्धनका लागि विश्व संस्कृत दिवस मनाउन लागिएको हो ।
युवा समुदायमा संस्कृत भाषाप्रतिको मोह त्यति नरहेको हुँदा पनि आजको दिनले संस्कृत भाषाको मोह युवा पुस्तामाझ स्थापित गराउने सोचमा आजको यस दिन मनाउन थालिएको हो । आजको दिन देशभर संस्कृत जागरणका लागि विभिन्न कार्यक्रमको आयोजना गरिने गरिन्छ ।
स्रोत