Type Here to Get Search Results !

जनै पुर्णिमा / रक्षा बन्धन

जनै पूर्णिमा | रक्षा बन्धन | क्वाटी खाने दिन | संस्कृत दिवस
Source: Hamro Patro

हाम्रो पात्रोकालागि सुयोग ढकालले तयार पार्नुभएको 

समथर फाँटका गह्राहरुदेखि गैरिखेतसम्मको रोपाई सकिसक्यो होला, शुरुमा रोपेका धानहरु त अब गोड्ने बेला नै भइसकेको हुनपर्छ । भदौरे धानका वालाहरु फुट्न नि थालिसके र अब यो रोपाइपछिको आनन्दमय समयमा थप आनन्द थप्न लस्कर लागेर चाडपर्वहरु आउन थालेका छन् । वास्तवमा रोपाई पछिको सुस्केरा मार्ने समय हो यो, चाडवाडले जीवनमा एउटा बेग्लै रङ्ग थपिदिन्छ ।

खुसीयालीको चाड विशेष विभिन्न रङ्गीन राखीहरूले पसलहरूमा झिलिमिल थपेका छन । अनि दिदि बहिनी हुनुहुन्छ भने आफ्ना दाजूभाइहरूकालागि राखी खरिद गर्नुभयो त ! अनि दाजूभाइहरुले भने आफ्नी दिदिबहिनीहरूकालागि के कस्तो उपहार दिने तरखर गर्नुभएको छ त आज ?

हरेक चाडवाडको आ-आफ्नै महत्व र सन्दर्भ हुन्छ जस्तै कुनै चाड माटोको चाड हुन्छ, कुनै पानीको चाड र आज यो जनैपूर्णिमा भने धागो र बन्धनको चाड हो । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन । ब्राह्मण र क्षत्रिय पुरुषहरुले हिन्दु परम्परा अनुसार यज्ञोपवित अर्थात जनै लगाउने चलन रहि आएको छ । बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरू-पुरोहितद्वारा अरूले नसुन्नेगरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्नेगरी दाहिने हातको मुन्तिर पारेर गुरू पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।

यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो (६ सूते धागो) लाई दुई बेग्लै बेग्लै गाँठो पारीसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रुपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुईवटा शिखाका छ वटा घागो डोरा मध्ये एउटा शिखामा रहेका तीनडोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।
आजको दिनको मन्त्र:

"येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।"

अर्थात्:

"जुन रक्षा (काँचो धागो)ले दानवहरुको महान राजा वलिलाई बाँधिएको थियो, म तिमीलाई त्यहि धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षागर्नेछ ।" आजको दिनलाई नेपालभाषामा गुंपुन्हि पनि भनिन्छ। नेवार समुदायले आजको दिनलाई "गुंला महिनाको पुन्हि" अर्थात "गुंपुन्हि" भनेर मनाउँछन् । यसै अवसरमा उपत्यकाका भित्री सहरका बहाल विहारमा ‘बहिद्यः ब्वयेगु’ भनेर दीपङ्कर बुद्धका मूर्ति एवं यससँग सम्बन्धित अरू मूर्ति, सामान प्रदर्शनका लागि राखिन्छ ।

रक्षाबन्धन बाँधिएको धागो निकालेर गाई तिहारकादिन गाइलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरीदिने चलन पनि छ । हिन्दु परम्परा अनुसार यसो गर्दा पूण्य प्राप्त हुने विश्वास रहि आएकोछ । कतिपयले आफै गुरु पुरोहितकहाँ गई या मठ मन्दिरमा गएर रक्षाबन्धन बाँध्ने गर्दछन् ।

यसै दिन दिदीवहिनीहरुले आफ्ना दाजू-भाइका दाहिने हातका नाडिमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ । नेपालको तराइक्षेत्र लगायत भारत, बङ्गलादेश लगायतका देशहरूमा राखीको चलन र यस चाडको महत्व एकदमै बढि रहेको छ ।

आजको दिन ज्वाँइ ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि प्रचलित छ । आज काठमाण्डौको पशुपतिनाथ, भक्तपुरको कुम्भेश्वर महादेव, रसुवाको गोसाँईकुण्ड, जनकपुरको गङ्गासागर, धनुषसागर, सोलुखुम्बुको दूधकुण्ड, खोटाङको हलेसी, जुम्लाको दानसाधु, नगरकोट लगायतका पर्वतीय शिखर, महादेवस्थान र त्रिवेणीधामहरुमा मेला पनि लाग्दै आएको छ ।



विशेषतः ब्राह्मण, क्षत्रीय या अन्यकुनै बैदिक धर्म पालनगर्ने समूदायमा ब्राह्मण पुरोहितसंग हातको नारिमा मन्त्रेको डोरा लगाएर यो पूर्णिमा मनाइने गरीएको छ । सनातन् हिन्दू वैदिकग्रन्थ अनुसार काँचो धागोबाट बनेको जनैलाई ब्रह्मसूत्र अर्थात् वेदोक्त्तकर्म सम्पादनार्थ तथा वेद अध्ययन निमित्त योग्यता हासिल गर्नकालागि ग्रहण गर्न मन्त्रिएर तयार पारीएको ६ सूते धागोको समूह हो जसलाई तयार पार्दा ३-३ वटा डोराको दुर्इवटा बन्धन तयार पारिन्छ जसलाई शिखा भनिन्छ । शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकहरूको योग मानिन्छ ।

परिवर्तित परिपेक्ष्यमा चूँडाकर्म या उपनयन सकेका ब्राह्मण या क्षत्रीयमात्र भन्दा पनि चित्त शुद्ध गरेर आस्थावान जोकोही सनातन धर्मका अनुयायीले पनि यज्ञोपवित अर्थात जनै अरुलाई लगाईदिन र आफूले पनि लगाउन सक्दछन् । स्मरण रहोस मन्त्रिएका यज्ञोपवितहरुको धारण गर्नाले सभिथा अर्थात सूर्य भगवानको प्रत्यक्ष उर्जा प्राप्तगर्ने र त्यसमा गायत्री मन्त्रको उच्चारणले शारीरीक, मानसिक र अध्यात्मिक सार्मथ्यको वृद्धि हुने बिश्वास छ ।

साथै यज्ञोपवित धारण गरेपछि समस्त सनातन कर्महरुको कर्ता र अभियन्ता बन्न योग्य पनि ठहर्याउँदछ । आजभोली वैदिक सनातन धर्मलाई केवल जातिय आधार र छुवाछुतका रुपमा लिइने चलन छ, जुन अत्यन्त सकुंचीत कुण्ठा मात्र हो ।

यज्ञोपवितले ब्राह्मणपथमा लाग्ने राहदानीको कार्य गर्दछ तथापि ब्राह्मणपथ भन्नाले जन्म हैन कर्मले प्राप्त हुने पथ हो । आत्मिक शुद्धता, सकल जगतको भलो अनि अध्यनशिलताको पथनै ब्राह्मण पथ हो । ब्राह्मणलाई केवल जात, भाषा र खलकका रुपमा मात्र हैर्न हुँदैन । जुनसुकै धर्म या जातिय पृष्ठभूमिको भएपनि अध्यनशीलता र आत्मिक शुद्धताको ब्राह्मणपथमा आलीन हुन सक्दछन् ।

-----
क्वाटी खाने दिन 
यो चाडमा छुटाउनै नहुने विशेष परिकार भनेको भिजाएर अङ्कुरीत भएका गेंडागूडीबाट बनेको "क्वाँटी" हो । नेपालभाषामा क्वातिको शाब्दिक अर्थ 'क्वाः' भनेको तातो परिकार 'ति' भनेको झोल त्यसैले "क्वाति" भनेको झोलिलो परिकार हो । आजको दिनलाई क्वाँटी खाने दिन पनि भनिन्छ । दुइदिन अघिदेखि पानीमा भिजाई राखिएको बिभिन्न ९ प्रकारका गेंडागूडिहरु (मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी र बकुल्लो) गरी नौ थरिका गेडागुडी मिसाइएको हुन्छ । मिसाएर तयार पारिएको मिश्रणमा जब टुसा उम्रिन्छ त्यसलाई क्वाँटी भनिन्छ । हरियो टुसा पलाएको गेंडागूडीलाई विशेषगरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ र यो दिन विशेषको महत्वपूर्ण स्वाद पनि हो ।


क्वाँटी पकाउने आ-आफ्नै तरिका हुन्छ, भूटेर, झोल पारेर साकाहारी स्वाद अथवा खसी वा कुखुराको मासु मिसाएर समेत स्वादिष्ट परिकार क्वाँटि तयार पारिन्छ । आजको दिन क्वाँटी खाएमा पाचनक्रियासंग सम्बन्धित बिभिन्न रोगहरु हट्ने जनविश्वाश रहिआएको छ । नेवार समूदायले खाने विशेष प्रकारको क्वाँटीलाई "न्वाँगी" भनिन्छ ।

देशमा हुनुहुन्छ या विदेशमा हुनुन्छ, परिवारसंग हुनुहुन्छ या परिवार बाहिर हुनुहुन्छ, तपाई जुनसुकै धर्ममा आस्था राख्नुहुन्छ या राख्नुहुन्न ? तपाई-हामी जहाँ छौं जे गर्दैछौं आजको यो सांस्कारीक काँचो धागो वा दाजू-भाई, दिदी-बहिनीहरूबिचको माया, स्नेह र बन्धनको चाडले हामी सबैलाई यस आदिकालिन परम्पराको निरन्तरतालाई यूगौं यूगसम्म निरन्तर प्रेम, सद्भावको चिनारीको रूपमा अघि बढिरहोस र सबैको रक्षा होस्, जनै पूर्णिमा, रक्षा बन्धनको शुभकामना ।

संस्कृत दिवस
संस्कृत भाषाको वस्तुगत महत्वलाई जन समक्ष पुर्याउन र संस्कृत साहित्यमा रहेको विशाल ज्ञानको अनुसन्धान गर्न, वौद्धिक समुदायलाई यसप्रति उत्प्रेरित गर्न, विद्यार्थीलाई संस्कृत भाषाको अध्ययन गर्ने प्रेरणा दिन हरेक वर्षको जनै पूर्णिमाका दिन ‘विश्व संस्कृत दिवस’ मनाउने गरिएको छ। ५००० वर्षभन्दा पुरानो इतिहास रहेको संस्कृत भाषाको दिन नै श्रावण पुर्णिमाको दिन मै वेद पाठनको शुरुवात हुने भएकाले आजको दिन नै संस्कृत दिवस भनेर मनाइन थालेको हो।

संस्कृत भाषामा रचना भएका ग्रन्थमा रहेका ज्ञान प्रचार प्रसारमा सहयोग पुर्याउने हेतुका साथ आजको दिन यो विश्व संस्कृत दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । संस्कृत भाषाको सम्वर्धन तथा प्रवर्धनका लागि विश्व संस्कृत दिवस मनाउन लागिएको हो। अहिलेको युवा समुदायमा संस्कृत भाषाप्रतिको मोह त्यति नरहेको हुदापनि आजको दिनले संस्कृत भाषाको मोह युवा पुस्तामाझ स्थापित गराउने सोचमा आजको यस दिन मनाउन थालिएको हो। आजको दिन देशभर संस्कृत जागरणका लािग विभिन्न कार्यक्रमको आयोजना गरिने गरिन्छ। 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.