बेलायतमा यसै हप्ता शैक्षिक सत्र सकियो । यी तीन नेपाली बालबालिका अब कक्षा दुईबाट तीनमा उक्लिनेछन् ।
कहिल्यै यिनले बोकेको झोलामा किताब र कापीका गह्रुँगा चाङ् भएनन् । होमवर्क पनि हप्ताको एक दिन र त्यो पनि बीस-तीस मिनेटमा सकिने खालको रह्यो । झोलामा पातला र आफ्नै रोजाइका एकदुई पुस्तक र एउटा कापी, बस् । यिनले फाइनल परीक्षा पनि दिएनन् । बरु अन्तिम हप्ता खेलकुद, शैक्षिक भ्रमण, सामूहिक नाट्य प्रस्तुति, परिवारसहित पिकनिक र अन्य रोचक गतिविधि गरेरै सकियो ।
कहिल्यै यिनले बोकेको झोलामा किताब र कापीका गह्रुँगा चाङ् भएनन् । होमवर्क पनि हप्ताको एक दिन र त्यो पनि बीस-तीस मिनेटमा सकिने खालको रह्यो । झोलामा पातला र आफ्नै रोजाइका एकदुई पुस्तक र एउटा कापी, बस् । यिनले फाइनल परीक्षा पनि दिएनन् । बरु अन्तिम हप्ता खेलकुद, शैक्षिक भ्रमण, सामूहिक नाट्य प्रस्तुति, परिवारसहित पिकनिक र अन्य रोचक गतिविधि गरेरै सकियो ।
स्कुल पनि कति रमाइलो । निश्चित विषयमा यो स्तरको सिकाइ गर्ने भन्ने फ्रेमवर्क छ । कम्तीमा यति सिकाउने भन्ने पाठ्यक्रम छ तर कुनै ठोस पाठ्यपुस्तक छैन । किताब त छिमेकको लाइब्रेरीमा छँदै छ चाहिए जति । यो निम्न प्राथमिक तहमा धेरै शिक्षक चिन्न पनि नपर्ने । एउटा 'क्लास टिचर' र एउटा 'टिचिंग एसिस्टेन्ट' मात्रै । तिनैले अंग्रेजीदेखि गणित र विज्ञानदेखि कलासम्म सिकाउने । बच्चाहरू ग्रुप मिलाएर राउण्ड टेबलमा बस्छन् । उनीहरूलाई थाहा हुँदैन तर हरेक टेबल तिनको सिकाइ र क्षमताअनुसार बनाइएका छन् । क्रिश्चियन चाडबाहेक अन्यमा बिदा त हुँदैन तर तिनले दीपावलीदेखि ईदसम्मका ती चाडपर्वबारे कक्षामैं पढ्छन् । अघिल्लो स्कुलमा मेरो छोरोले स्कुलमैं देखाइएको रामायण नाटकमा राम बनेर खेलेको थियो ।
केही सामान्य तर रोचक पक्ष छन् । तपाईं विद्यार्थी, कामदार, लीगल-इल्लीगल शरणार्थीजस्ता जुनसुकै भिसा र हैसियतमा भए पनि तपाईंका छोराछोरीले निःशुल्क शिक्षा पाउँछन् । बच्चालाई नियमित विद्यालय नपठाउनु अक्षम्य कानुनी अपराध हो र यो अपराध प्रमाणित भएमा तपाईं जेल बस्नेमात्रै होइन, भविष्यमा कतिपय रोजगारीका निम्ति अयोग्य हुनुहुन्छ ।
हरेक विद्यालयको एउटा सरकारी तर इन्डिपेन्डेन्ट संस्था (Ofsted) ले अनुगमन र रेटिंग गर्छ । बिहानदेखि बेलुकासम्म त्यो टिम विद्यालयमा रहेर भौतिक, शैक्षिक र वातावरणीय अनुगमन गर्छ । अभिभावकदेखि विद्यार्थीसम्मलाई सोध्छ । कक्षामा बसेर पढाइको स्तर हेर्छ । पर्याप्त खेलकुद मैदान छ कि छैन, खानाको गुणस्तर छ कि छैन, बच्चाहरूले सिकिरहेका छन् या छैनन्, ती कत्तिको खुशी छन् र विद्यालय भवन सुरक्षित छ या छैन जस्ता शीर्षकमा उसले रिपोर्ट तयार गर्छ । यो रिपोर्टले विद्यालयको भविष्यमात्र होइन, त्यो क्षेत्रको घरको मूल्यदेखि प्रतिष्ठासम्म फेरबदल गर्छ । घर किन्नुअघि मुख्य रूपमा त पैसा नै हेरिन्छ, तर त्यसपछि हेर्ने भनेको स्कुलको रेटिंग, यातायातको सुविधा र आफ्नो समुदायको बहुलता नै हो ।
एउटा क़ुरा भने नेपालसँग मिल्दोजुल्दो पनि छ । विद्यालय सञ्चालक समिति भनेजस्तै यहाँ पनि गभर्निङ् बड़ी हुन्छ । र त्यसलाई राजनीतिको ढोका पनि भनिन्छ । गभर्नर भएर काम गरेपछि समुदायसँग चिनाजानी बढ्छ र पार्टीले स्थानीय चुनाबमा सजिलै उम्मेद्वार बनाउँछ । नत्र कसले कसलाई चिन्नु ! सबै आफ्नो काममा मस्त छन् । अँ, यो गभर्नर बन्न नेपालमा जस्तो ठूलै उत्पात गर्न भने पर्दैन । धेरैजसो विद्यालयले अनुरोध गरेर मात्रै बन्न तयार हुन्छन् ।
नेपालमा पनि निश्चित पाठ्यक्रम बनाउने र जथाभावी पाठ्यपुस्तक छाप्न नदिने हो भने अभिभावकको पैसादेखि जङ्गलसम्म जोगिने थियो । शिक्षक पनि सिर्जनशील बन्ने थियो । हाल यस्तो छ कि, मसँग पढेका र पाठ्यपुस्तक नलेखेका मबाहेक अर्को कोही छैन । म पनि नेपालमैं भएको भए दुईचार पाठ्यपुस्तक लेखिसक्दो हुँ । तर बल्ल मैले शिक्षाको क-ख बुझ्दै छु !
(तस्बीरमा दायाँको मेरो छोरो हो भने बायाँतर्फका दुई मित्रपुत्रीहरू हुन् ।)
Source : Narayan Gaule